१६ माघ, काठमाडौं । झण्डै एक वर्षपछि नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले नयाँ नेतृत्व पाएको छ । नेविसङ्घको सुनसरीका राजीव ढुंगानाले नेतृत्व गर्नेछन् ।
त्यस्तै महामन्त्रीमा काठमाडौंका मनोज वैद्य र मुख्यसचिवमा पाल्पाकी महेश्वरी कुँवर रहेका छन् । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने नेविसंघले जनाएको छ ।
गएको माघमा नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन भएपछि नेतृत्वविहीन बनेको थियो । त्यसपछि गएको फागुन १ गते काङ्ग्रेस केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवालाई नेविसंघलाई नेतृत्व दिन जिम्मेवारी दिएको थियो ।
नेपाली काङ्ग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नयाँ नेतृत्व दिइएको पार्टीले जनाएको छ ।


