१९ माघ, काठमाडौँ ।
मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ । वीर गोर्खालीको कथामा निर्माण हुने चलचित्र लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने भएको हो ।
चाँडै छायाङ्कन सुरु हुने चलचित्रको बजेट २० करोड बढी रहेको बताइएको छ । प्रदिप भारद्धाजको लेखन रहेको यो चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलो र केही हलिउड कलाकारको अभिनय रहने मिलनले जानकारी दिए । साथमा, यो चलचित्रमा नयाँ अनुहारको रुपमा रितेश चाम्सलाई देख्न पाइनेछ ।
सन् २०२१ मा विश्वभर प्रदर्शन आउने चलचित्रबाट प्रशान्तले ‘परदेशी’ रिलिजको ४ वर्षपछि नेपाली फिल्ममा कम ब्याक गर्ने भएका छन् । यूके, अफगानिस्तान र नेपालमा छायाङ्कन हुने चलचित्रको लागी नायिकाको खोजी भइरहेको छ ।
नेपाली र अङ्ग्रेजी भाषामा निर्माण हुने यो चलचित्रमा ५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने जानकारी चाम्सले दिए । उनका अनुसार, सन् २०२१ मा रिलिज हुने यो चलचित्रको लण्डन विश्व प्रिमियरमा करिब १० हजार दर्शकलाई उपस्थित गराउने योजना लिइएको छ । यसका लागि चलचित्रको प्रचार लण्डनमा सुरु भैसकेको छ । लण्डनमा पहिलोपटक डबल टेकर बसमा यो चलचित्रको प्रचार सुरु भैसकेको छ ।
यो चलचित्रले विर गोर्खालीको कथालाई प्रस्तुत गर्नेछ । निर्देशक चाम्सले यो आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएका छन्