नेकपा सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

नेकपा सांसदले मागे सञ्चारमन्त्रीको राजीनामा

१९ माघ,काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रि समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किँरातीले सञ्चारमन्त्री बास्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामाको माग गरेका हुन् ।

‘सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ । चाह्यो भने अमेरिकाले सुलेमानी बनाईदिन्छ यो देशका नेताहरुलाई भन्ने अभिव्यक्ति आपत्तिजनक छ’, उनले भने । राष्ट्रियता स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उनको आरोप छ । सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति समेत जनाए । ‘लेण्डुप जोर्दे प्रवृति आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने ।

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन् । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताए । राष्ट्रियहितमा हुनेगरी अगाडी बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औल्याए ।

अर्का सांसद नारदमूनी रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए । संसदमा समेत दुईथरी अतिवादी विचारहरु सार्वजनिक भइरहेको उनको भनाई छ । ‘एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरु संसदमा जुहारी खेलिरहेका छन् । राष्ट्रहितमा कसरी लान सकिन्छ । तपाई (सभामुख) को नेतृत्वमा यसले प्राथमिकता पावस’, उनले भने ।

समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । गम्भिरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उनले जोड दिए । ‘पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ । पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ । मत विभाजन गरेर विभाजित हुनुहुँदैन्’, उनले भने ।

एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरु व्यक्त भइरहेका छन । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरुको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ । प्रधानमन्त्री ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् । आइतबारको समिति बैठकले विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृति क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि २ महिना थप गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.