एजेन्सी, माघ २२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हाउस अफ् रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीबीचको कलह फेरि एक पटक सतहमा आएको छ ।
विवादका कारण मंगलबार संसद्मा राष्ट्रपति ट्रम्पको भाषण सभामुख न्यान्सी पेलोसीले उनकै छेउमा बसेर च्यातिदिएकी छन्।
संसद्मा राष्ट्रपति ट्रम्पले ‘स्टेट अफ् युनियन स्पीच’दिएका थिए। ट्रम्पले सम्बोधन सकेर फर्कने क्रममा सभामुखले हात अघि बढाइन्। तर ट्रम्पले हात मिलाउन चाहेनन्। ट्रम्पको सम्बोधनमा समर्थन जनाउँदै रिपब्लिकन सांसद्हरुले ताली बजाइरहेका थिए। सभामुख पेलोसीले ट्रम्पको सम्बोधनको कपी धुजाधुजा पारेर च्यातिदिइन्।
लाइभ प्रशारणमानै न्यान्सीले भाषण च्यातिदिएपछि सभामुख र ट्रम्पबीचको विवाद छताछुल्ल भएको छ । भाषण दिन आउँदै गरेका ट्रम्पलाई न्यान्सीले अभिवादन गर्दै हात मिलाउन खोज्दा ट्रम्पले हात नदिएपछि विरोधस्वरुप न्यान्सीले उनको सामुन्ने भाषण च्यातिदिएकी हुन्।
ट्रम्पको सम्बोधनको प्रति च्यातेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभामुख पेलोसीले ‘विकल्पलाई मध्यनजर गर्दा यो विनम्र प्रतिक्रिया’ भएको जवाफ दिइन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने नीतिको सभामुख न्यान्सीले विरोध गर्दै आएकी थिइन् । जसका कारणपनि ट्रम्प न्यान्सीसँग रुष्ट थिए ।
