१ फाल्गुन, काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न पर्सि शनिबार दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ ।
वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक छन्।
वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन । जहाजको टोलीलाई पाकिस्तानी वा नेपाली पाइलटले नेतृत्व गर्ने भएका छन् ।
चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली नागरिकलाई जम्मा पार्ने तयारी गरेको छ । हुवेई प्रान्तको विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी सबैलाई वुहानमा भेला गरिनेछ ।
चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न लागेको हो ।
फिर्ता गरेर ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ ।