वुहान जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राखिने

वुहान जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राखिने

२ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपालीलाई उद्दार गर्न जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

जहाज काठमाडौं अवतरण भएपछि विद्यार्थीसँगै पाइलटसहित सबैलाई क्वारेन्टाइनमा राखिने एक मन्त्रीले जानकारी दिए । कोरोनाभाइरसको सम्भावित संक्रमण खतरालाई मध्यनजर गर्दै जहाजका पाइलटसहित सबै उडानदलका सदस्यलाई क्वारेन्टाइनमा राखिन लागिएको हो ।

कोरोनाभाइसको उद्गमस्थल चीनको वुहानमा उद्दारको पर्खाइमा रहेका १ सय ८० नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार दिउँसो पौने तीन बजे वुहान जाँदैछ ।

नेपाली विद्यार्थीलाई लिएर जहाज वुहानबाट आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । जहाजमा जानेहरूको नाम भने खुलाइएको छैन ।

चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली विद्यार्थी जम्मा पार्ने तयारी थालेको छ। हुबेई प्रान्तमा रहेका सबै विद्यार्थीलाई राजधानी वुहानमा भेला गरिनेछ।

चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो।

वुहानबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईटा भवन तयार पारेको छ।

यसअघि सरकारले चीनबाट आफ्ना नागरिकलाई उद्दार गर्न ढिलाई गरेको भन्दै आलोचना भएको थियो। वुहानमा रहेका विद्यार्थीका अभिभावकले समेत सरकारलाई ताकेता गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.