९ फागुन, एजेन्सी । कोभिड-१९ भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ। पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड-१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ ।
जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएको थियो । जेलभित्र २ हजार ७७ मानिस थिए । बिहीबार गरिएको परीक्षणमा दुई सय जना कैदी र सात जना अधिकारीलाई कोभिड-१९ देखिएको थियो।
त्यस्तै दक्षिणी झेजियाङ प्रान्तको अर्को जेलमा पनि ३४ जना कैदीलाई कोभिड-१९ देखिएको छ। त्यहाँको पार्टीका अधिकारीहरूले बाहिरबाट भाइरस आएको भन्दै दुई जना जेलरलाई बर्खास्त गरेको जनाएका छन्।
यसैबीच बिहीबार फेरि चीनमा कोभिड-१९ संक्रमित हुनेको संख्या बढेको छ । बिहीबार एक सय १४ जनाको मृत्यु भएको छ भने ८ सय ९९ जना संक्रमित थपिएका छन् । यसअघि बुधबार १०८ जनाको मृत्यु भएको थियो भने ३९४ जनामात्र नयाँ बिरामी थपिएका थिए।
कोभिड-१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्। चीनपछि सबैभन्दा धेरै जापानमा १७३ जना संक्रमित भएका छन् भने ३ जनाको ज्यान गएको छ।
दक्षिण कोरियामा १ सय ५६ जनालाई कोभिड-१९ देखिएको छ भने १ जनाको मृत्यु भएको छ। हङकङमा २ जनाले ज्यान गुमाएका छन्।
