९ फागुन, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले एसिडको खुलेआम बिक्री–वितरणलाई नियमन गर्न आग्रह गर्दै ३३ हजार जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारलाई बुझाएको छ । राजधानीको बानेश्वरमा बिहीबार आयोजित कार्यक्रममा एम्नेस्टीले गृह मन्त्रालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

मानवअधिकार उल्लंघन भोगेका वा जोखिममा रहेका मानिसको समर्थनमा एम्नेस्टीले प्रत्येक वर्ष आयोजना गर्ने वार्षिक पत्रलेखन अभियान राइट फर राइट्सअन्तर्गत यस वर्ष एसिड बेचबिखन नियन्त्रणको विषय छानेको छ ।
पछिल्ला पाँच आर्थिक वर्षमा एसिड प्रहारबाट १३ महिला र तीन पुरुष पीडित भइसकेका छन् । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले एसिडको खुलेआम बिक्री–वितरणलाई नियमन गर्न जरुरी भएको तर कसले÷कसरी गर्ने भन्नेबारे स्पष्ट विधिको खाँचो रहेको औंल्याए ।

विद्यमान कानुनमा एसिडपीडितका लागि आर्थिक क्षतिपूर्ति र उपचार खर्चबारे व्यवस्था नभएको कार्यक्रममा फोरम फर वुमन ल एन्ड डेभलपमेन्टका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए ।
एम्नेस्टी नेपालका निर्देशक नीराजन थपलियाले एसिडजन्य गम्भीर अपराध अन्त्य गर्न आवश्यक पर्ने नीति र कानुनी मापदण्डका लागि बहस होस् भनेर एम्नेस्टीले छलफल सुरु गरेको जनाए ।