१६ फागुन, काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संसदलाई छलेर इन्धनमा मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रत्ति आपत्ति जनाएको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि बुढिगण्डकी जलविद्युत आयोजनाका नाममा इन्धनमा प्रतिलिटर ५ रुपैयाँ उठाएर ४१ अर्ब संकलन भइसक्दापनि सदुपयोग नभइरहेको बेला पुनः इन्धनमा कर लगाउनु आपत्तिजनक भएको बताएका छन् ।
मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका अर्थ मन्त्री युवराज खतिवडाले पेट्रोल तथा डिजेलमा ५/५ रुपैयाँ मूल्य बढाउने निर्णय भएको जानकारी दिएका थिए । विज्ञप्तिमा इन्धनमा कर बढ्नु भनेको सबै उपभोग्य वस्तुमा कर बढ्नु भएको भन्दै फिर्ता लिन माग गरिएको छ ।
त्यस्तै अध्यक्ष ढुंगानाले पुस्तकमा १० प्रतिशत आयात कर लगाउने निर्णय तत्काल खारेज गर्न र ललिता निवास प्रकरण, सुरक्षण प्रिन्टिङ प्रेस कमिसन प्रकरणमा मुछिएका मन्त्री र नेकपाका नेताको विषयमा सत्य तथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मितिसहितको तत्काल ल्याउन माग ढुंगानाले विज्ञप्तिमा गरेका छन् ।
नेविसंघले मूल्यवृद्धि, भ्रष्टाचार र स्ववियु निर्वाच्नको सुनिश्चितताका निम्ति आइतबार देशभरका क्याम्पस अगाडि बिहान ९ बेजेदेखि आधा घन्टा प्रदर्शन र कोणसभा आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ।