१८ फागुन, एजेन्सी । अस्ट्रेलियामा कोरोनाभाइरसबाट पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ ।
कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रेलियाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको त्यहाँका संचारमाध्यमले जनाएका छन्।
कोरोनाभाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो। पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर ती व्यक्तिको उपचार गरिदैं आइएको थियो। उनको आइतबार विहान निधन भएको हो।
ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् । उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ।
वेस्ट अस्ट्रेलियाका स्वास्थ्य अधिकारी डा. एन्ड्रयू रोबर्टसनले मृत्युअघि ती व्यक्तिले आफ्नी पत्नीसँग कुरा गर्न पाएका थिए। कोरोनासंक्रमणबाट पहिलो मृत्यु भएपनि मानिसहरू डराउनुपर्ने अवस्था नरहेको उनले बताएका छन्। उनले यो समय भविष्यमा आउनसक्ने मामिलाका लागि तयारी गर्ने समय भएको बताए।
