१८ फागुन, काठमाडौं । दुई साता लामो भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार आज आइतबार नेपाल आइपुग्ने कार्यक्रम छ । भारतको नयाँदिल्ली र अमृतशहरस्थित शिखहरूको पवित्र तीर्थस्थल स्वर्ण मन्दिर दर्शन गर्न पुग्नुभएका ज्ञानेन्द्र आज साढे २ बजे नेपाल फर्कने बताइएको छ ।
पूर्वरानी कोमलको फागुन ७ गतेको जन्मोत्सव पारेर अमृतशहर पुगेका ज्ञानेन्द्र परिवारले स्वर्ण मन्दिरको दर्शन गरेकी थिइन् ।
ज्ञानेन्द्रको साथमा पत्नी कोमल, बहिनी शोभा शाही, ज्वाइँ मोहनबहादुर शाही, सालाभाइ उदयशमसेर राणा र उनकी धर्मपत्नी रोशनी राणा, निजी सचिव सागर तिमल्सिना र निजी अंगरक्षक सशस्त्रका डीएसपी राजेन्द्र गुरागाईंसहित करिब १२ जनाको टोली भारत पुगेको थियो । यही फागुन ४ गते भारत भ्रमणमा निस्किएका ज्ञानेन्द्रले भारतको राजधानी नयाँदिल्लीमा उच्च राजनीतिक भेटघाट गरेको स्रोतको दाबी छ।
दुई साता भारत बसाइको क्रममा उहाँले केही अन्य धार्मिक तीर्थस्थलको समेत भ्रमण गरेका थिए । नेपाल फर्केर केही दिन काठमाडौं बस्ने र लगत्तै चैत १ गते झापा जाने कार्यक्रम तय भएको छ।
उनले नयाँ वर्षको कार्यक्रम झापामा नै तय गरेका छन् । करिब तीन महिना अघिदेखि झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्दै आएका ज्ञानेन्द्रले पछिल्लो समय निकटका नातेदार र राजनीतिक आस्था राख्नेलाई झापामै भेटघाट गर्ने कार्यक्रम तय भएको छ। (रासस)