२४ फागुन, एजेन्सी ।
साउदी अरेबियामा राजाका भाइसहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई कारण नखुलाइकनै गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
तीमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व हुन्। पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ।
सन् २०१७ मा युवराजले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएपछि राजपरिवारका दर्जनौँ व्यक्तित्वहरू र व्यवसायीहरू रियादस्थित रिज कार्लटन होटेलमा सीमित पारिएका थिए।
मोहम्मद बिन सलमानलाई उनका बाबुले सन् २०१६ मा युवराज घोषणा गरेपछि उनी नै खासमा देशका शासक रहँदै आएको मानिन्छ। गिरफ्तारी शुक्रवार बिहानै गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन्।
तीनजना गिरफ्तार गरिएका पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।
मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए।
शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले लेखेको छ।(बीबीसी)