१४ चैत, काठमाडौँ । गत माघ १५ गतेदेखि चीनतर्फका बन्द दुई नाका रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका आजबाट खुला भएका छन् । सामान ल्याउन मिल्ने गरी नाका खुला गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो । चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको दुई महिनाभन्दा बढी भयो । चिनियाँ पक्षले नेपाललाई उक्त कारण देखाउँदै नाका खोल्न भनिरहेको थियो ।
नेपाल आयात हुने धेरैजसो सामग्री ०७२ मंसिरदेखि रसुवागढी नाकाबाट आउने गरेको थियो । यो नाकालाई ०७४ भदौ १४ गते चीन सरकारले ‘अन्तर्रा्ष्ट्रिय नाका’ घोषणा गरेपछि सीमामा व्यवसायी र सवारीसाधनको चाप बढ्दै गएको थियो । नेपालको वैदेशिक व्यापारमा चिनियाँ सामग्रीको हिस्सा १६ प्रतिशत छ ।