२० चैत, काठमाडौं ।
नेपालमा थप एकजना महिलामा कोरोना भाईरस(कोभिड १९) को पोजेटिभ देखिएकोे छ । संक्रमित बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको छ ।
कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे । उनका अनुसार ती महिला चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।
यसअघि कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिईसकेको थियो । अहिले संक्रमण पुष्टि भएकी बृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त हुन् ।
दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एक दिन आफन्तकहाँ बसेर उनीहरु दुबै जितमा बाग्लुङ पुगेका थिए । एक अधिकारीले भने ‘घरमा आएपछि सामान्य भेटघाट गर्नु भएको रहेछ । सँगै आएकी युवतीमा संक्रमण देखिएपछि क्वारेन्टाइनमा बसेकी थिइन्’ ।
संक्रमण देखिएपछि होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै विदेशबाट आएका हुन् ।