२० चैत, काठमाडौँ ।
भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो । धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल भारत सिमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सिमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिए ।
बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ ।