२७ चैत, काठमाडौं । मौसम परिवर्तनको समयमा विभिन्न रोग लाग्न सक्ने भएकाले त्यसतर्फ ध्यान दिन अत्यन्त जरुरी रहेको विषेशज्ञ डाक्टरहरुले सुझाव दिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) मा धेरै ध्यान केन्द्रित नगर्न र अरु रोगबाट बच्नका लागि ख्याल गर्न डाक्टरहरुले सुझाव दिएका हुन् ।
अहिले जाडो सकिएर गर्मी सुरु हुँदै गर्दा झाडापखाला, आउँ, टाइफाइड लगायतका सरुवा रोग लाग्ने जोखिम बढ्ने भएकाले ख्याल गर्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले आग्रह गरेका छन् । सबैतिर कोराना सङ्क्रमण, यसबाट बच्ने उपाय लगायत कोरोनाकै मात्र चर्चा गर्दा अरु रोग ओझेलमा परेको भन्दै त्यसमा पनि ख्याल गर्न उनको सुझाव छ ।
यी सबै रोगबाट बच्न साबुन पानीले राम्ररी हात धोएर मात्रै खानेकुरा खाने, उमालेको पानी मात्र पिउने, झोलिलो खानेकुरा खाने र उच्च ज्वरो तथा खोकी एक हप्तामा पनि निको नभए डाक्टरको सल्लाह लिनुपर्नेमा उनले जोड दिए ।