१ वैशाख, एजेन्सी ।
सोमबार भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको जनाइएको छ।
गएको २४ घन्टायता त्यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएका हुन्। सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३५ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३०८ पुगेको छ।
भारतमा देखिएका यी संक्रमितहरुमध्ये ८५७ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्रमित विरामी अस्पतालमा छन् ।