२ वैशाख, काठमाडौं ।
सरकारले भारतसँगको सिमानामा अझ कडाई गर्ने भएको छ । भारतमा कोरोना भाइरस संक्रमण फैलिदो अवस्थामा रहेकाले सीमा क्षेत्रमा थप सुरक्षा तैनाथीसहित कडाई गरिने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले लकडाउनको समयमा नै संक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको मन्त्रिपरिषद स्रोतले बताएको छ । अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन।
कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए।सरकारले सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै ती क्षेत्रमा एक्सन टिम पठाउने भएको छ । स्वास्थ्यकर्मीको संख्या पनि त्यहाँ थपिने भएको छ ।
बैठकले यसअघि वैशाख ३ गतेसम्म थपेको लकडाउन बढाएर बैशाख १५ गतेसम्म पुर्याएको छ । त्यस्तै अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ।
मन्त्रिपरिषद बैठकमा काठमाडौंबाट राति राति हिँडेर विभिन्न गन्तव्यमा गइरहेकाहरुको बारेमा पनि छलफल भएको थियो । अब त्यसमा पनि सरकारले कडाइ गर्ने भएको छ । जो जहाँ पुगेका छन् उनीहरुलाई स्थानीय तहमार्फत खाने बस्ने व्यवस्था गर्ने र अरुलाई निस्कन नदिने रणनीति सरकारले बनाएको छ ।


