३ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्समा सरकारले फेरि कार्यकारी अध्यक्ष नियुक्त गरेको छ । मंगरलबारको मन्त्रिपरिषदको बैठकले पूर्वपर्यटन सचिवसमेत भइसकेका सुशील घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।
सरकारले घिमिरेलाई नेपाल एयरलाइन्सको कार्यकारी अधिकारसहित अध्यक्षको भुमिकामा नियुक्त गर्ने निर्णय गरेको छ । घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।
घिमिरे यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन् । तर यसपालि भने उनी कार्यकारी अधिकारसहित अध्यक्ष नियुक्त भएका हुन् । राष्ट्रिय ध्वजाबाहकमा सरकारले फेरि महाप्रबन्धक खाली राखेर कार्यकारी अध्यक्ष ल्याएको छ ।
महाप्रबन्धक हुँदा निगममा पर्यटन मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् । जसले मन्त्रालयको प्रत्यक्ष भुमिका देखाउँछन्। तर कार्यकारी अध्यक्ष हुँदा सिधै मन्त्रीपरिषद वा प्रधानमन्त्रीको अधिन हुन्छ ।
यसअघि पनि सरकारले मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएको थियो । उनी कार्यकाल नसिकंदै राजिनामा दिएर बाहिरिएका थिए।


