९ बैशाख, विराटनगर ।
प्रदेश १ मा ३ हजार सात सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट जम्मा ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ । १ सय ८६ महिला र ४ सय ९२ पुरुषको नमुना परीक्षण भएको हो ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल ९ सय ८२ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा २७ जना छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ४ सय ८१ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
यसैबीच उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश १ सरकारले आजबाट पूरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए ।
स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको कार्कीले बताए। यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ भने नेपालको कुल संक्रमित संख्या ४० पुगेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । विराटनगरका एकजनामा शनिबार संक्रमण भेटिएको थियो । मस्जिदमा बसेरका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो ।
कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो । एकजनाको रिपोर्ट आउन बाँकी छ । थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।
नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएकोमध्ये एकजनामा संक्रमण भेटिएको छ । यसैविच सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक आज सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए ।