१८ वैशाख, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभूषण (ग्रान्ड कोर्डन अफ दी अर्डर अफ दी राइजिङ सन) प्रदान गर्ने निर्णय गरेको छ ।
काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यो सम्मानबारे जानकारी दिएको हो । जापानी सम्राटले सन् १८७५ मा स्थापना गरेको यो सम्मान जापान सरकारले विदेशी नागरिकलाई प्रदान गर्ने सर्वोच्च सम्मानमध्ये पर्छ ।
दूतावासले नेपाल र जापानबीचको सम्बन्ध मजबुत बनाउन र विस्तार गर्न योगदान गरेकाले यो सम्मान दिइएको जनाएको छ । पूर्वसभामुख पौडेल सन् १९९९ मा स्थापित नेपाल–जापान संसदीय मैत्री संघका संस्थापक हुन् । २०१७ सम्म पौडेल यसको अध्यक्ष थिए । यो सम्मान वर्षको दुईपटक प्रदान गरिने पनि दूतावासले जनाएको छ ।