२६ जेष्ठ, एजेन्सी । दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्य भएपछि भड्किएको हिंसात्मक प्रदर्शनले अझै रोकिने नाम लिइरहेको छैन ।
देशव्यापी रुपमा प्रदर्शनहरु जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना भइरहेको छ ।
पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलले राष्ट्रपति ट्रम्पले जातीयता विरोधी प्रदर्शनलाई सम्बोधन गरेको भन्दै कडा आलोचना गरेका छन् ।
उनले राष्ट्रपति ट्रम्प आफैंले दण्डहिनतालाई प्रोत्साहन गरेको र जवाफदेही नभएको आरोपसमेत लगाए । राष्ट्रपति ट्रम्पले संवैधानिक व्यवस्था विपरीत जातीय विभेदलाई प्रोत्साहन गरेको पावेलको आरोप छ ।
विरोध प्रदर्शन नरोकिए सेनाको प्रयोग गर्ने ट्रम्पको चेतावनीको सर्वत्र आलोचना भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिने क्रममा अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई घुँडाले घाँटी थिचेर हत्या गरेको आरोप लगाइएको छ ।
जातीयवाद र प्रहरीको क्रुरताविरुद्ध दुई सातादेखि अमेरिका, युरोपलगायत विश्वभर विरोध भइरहेको छ । अमेरिकामा दैनिक हजारौं मानिसले प्रहरीको उक्त कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
कतिपय शहरमा प्रदर्शनहरु हिंसात्मक हुँदा लुटपाट, चोरी र आगजनीका घटनाहरु पनि भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भीड नियन्त्रण गर्न नसक्दा कतिपय राज्यहरुमा कफर््यू नै जारी गरिएको छ । अमेरिकाको वासिङ्टन पोष्ट पत्रिकाको तथ्यांक विवरणअनुसार सन् २०१९ मा प्रहरीको गोली लागेर एक हजार १४ जनाको मृत्यु भएको थियो ।