३० जेठ, काठमाडौँ ।
रुकुमपश्चिम घटनाको अनुसन्धानकालागि गठन भएको संसदीयविशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारीक रुपमा भेटगरी छलफल सुरु गरेको हो ।
समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र बिहीबारदेखि औपचारिक छलफल सुरु भएको बताए । उनले संविधान संशोधनकालागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए । उनले भने ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र हामी प्रारम्भिक छलफल सुरु गरेका छौं । कार्यविधि बनाउने देखि लिएर सबै निकै गम्भिरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं । यो नेपालको खासगरी अनुसूची फेरेर संविधान संशोधन गर्ने र नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालभित्र ल्याउने ऐतिहासिकदिन भएको हुँदाखेरी त्यो दिनमा भोट हालेर हामी लगत्तै त्यसपछि सम्मानित सदनले दिएको जिम्मेवारी कार्यदल (संसदीय समिति)को जिम्मोवारी पुरा गर्नको निम्ति हामी जाने छौं ।’
प्रतिनिधि सभाले रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानविनका लागि जेठ २६ गते सोमबार संसदीय विशेष समिति गठन गरेको थियो । समितिको संयोजकमा नेकपाका सांसद देवेन्द्र पौडेल हुनुहुन्छ भने सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाईली (स्नेही), बिमला बि.क., महेश्वरजंग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा, र रामसहायप्रसाद यादव रहेका छन् । संसदीय विशेष समितिले रुकुमको चौरजहारीमा भएको घटनाको अनुसन्धानकार्य प्रारम्भ भएको मितिले तीस दिनभित्रमा सम्पन्न गर्नुपर्ने छ ।