११ असार, सप्तरी ।
सप्तरीको खड्ग नगरपालिका–७ मा बुधबार बेलुका गाडीको ठक्करबाट आमाछोराले ज्यान गुमाएका छन् ।
उनीहरूलाई कञ्चनरूप नगरपालिकाको स्कारपियोले ठक्कर दिएको हो । मृत्यु हुनेमा ६५ वर्षीया सुदनीदेवी दास र ४० वर्षीय वीरेन्द्र दास छन् । स१झ ४८७ नम्बरको स्कारपियोले बेलुका ९ बजे ठक्कर दिँदा उनीहरूको घटास्थलमै ज्यान गएको थियो ।
कमलेश मुखियाले चलाएको उक्त गाडीमा घटनाका बेला नगरपालिकाका लेखा अधिकृत राजेशकुमार राज पनि थिए । आमाछोरालाई ठक्कर दिएपछि उनीहरू भागेका थिए । चालक मुखिया राजविराजमा लेखा अधिकृत राजलाई छोडेर भारदह हुँदै कञ्चनपुर गइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चालकसहित गाडी पनि प्रहरी नियन्त्रणमा रहेको डीएसपी तिलक भारतीले जानकारी दिए । चालकको राति नै स्वास्थ्य परीक्षण गरिए पनि मदिरा पिए, नपिएको रिपोर्ट आइनसकेको उनले बताए । स्रोतका अनुसार बुधबार कञ्चनरुप नगरपालिकाको नगरसभा थियो ।
नगरसभापछि लेखा अधिकृत राज चालकसहित गाडी लिएर लहान गएका थिए । फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।