संसद् सेवा दिवसः सभामुख र अध्यक्षद्वारा शुभकामना

१६ असार ७७, मंगलबार
Share this
730shares

१६ असार, काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा आज सम्पूर्ण नेपालीमा बधाई र शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

उक्त दिवसका अवसरमा दिएको सन्देशमा उनीहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफनो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमाा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ ।

Advertisement

उनीहरुले भनेका छन्, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ ।”

कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उनीहरुले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको स्पष्ट गरेका छन् ।

Advertisement

आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहिआएको छ । संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उनीहरुले जोड दिएका छन् ।

विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको उनीहरुले स्मरण गराएका छन् ।

उनीहरुले सम्पूर्ण सङ्घीय सदस्य, संविधानसभा सदस्य, पूर्वसदस्य र राष्ट्रसेवक कर्मचारीलगायत सम्पूर्ण नागरिकमा संसद् सेवा दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top