१९ असार, गुल्मी । गुल्मीमा पहिरोमा परेर थप एक जनाको ज्यान गएको छ । वेपत्ता तीन जनामध्ये एक जनाको शव फेला परेको हो । एक जना अझै बेपत्ता छन् भने एक जनाको ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् ।
इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले जानकारी दिएका छन् ।
बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी थिइन् ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे सम्पर्कबिहीन भएको स्थानीयले बताए । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् ।
घटनास्थलमा सुरक्षाकर्मीको टोली खटिएका छन् । पानी परिरहेकाले अहिले पनि पहिरो खसिरहेको छ । पहिरोले सडक अवरुद्ध हुँदा घाइतेको उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।