योगेन्द्र योगी
२१ असार,दोहा ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गैरआवासीय नेपाली संघलाई कोभिड–१९ सँग लड्न ४ लाख २४ हजार ३१० डलर अर्थात् रू ५ करोड १० लाख अनुदान सम्झौता भएको छ ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले आइएलओ र गैरआवासीय नेपाली संघ बीच सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले जनाएको छ ।
एनआरएनएले अध्यक्ष कुमार पन्तले भने–‘संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकको लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारीबोधको रुपमा लिएका छौँ ।’
विशेष गरी कोभिड–१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ आईएलओले सो आर्थिक सहयोग गरेको उनले बताए । साथै कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिने उनको भनाइ रहेको छ ।
अध्यक्ष पन्तका अनुसार संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।
ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने पनि संघको तयारी छ । साथै आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने उनले बताए ।
आइएलओले एनआरएनएको प्रस्तावलाई करिब ५ हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको हो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।