ढुलमुले व्यवाहार अन्त्य गर्दै ६ बुँदे प्रस्ताव फिर्ता लिन वामदेवलाई दबाव

ढुलमुले व्यवाहार अन्त्य गर्दै ६ बुँदे प्रस्ताव फिर्ता लिन वामदेवलाई दबाव

१५ साउन, काठमाडौँ ।
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै अघि सारेको ६ बुँदे प्रस्ताव फिर्ता लिन उनी निकट नेताहरुले दबाब दिएका छन्।

यो संसदको कार्यकालभर ओलीलाई प्रधानमन्त्री र महाधिवशेनसम्म अध्यक्ष कायम राख्नुपर्ने भन्दै गौतमले शनिबार गरेको प्रस्तावप्रति उनी निकट नेताहरु नै असन्तुष्ट देखिएका हुन्।

बुधबार साँझ गौतम निवास भैँसेपाटी पुगेर उनी निकट केन्द्रीय सदस्यहरुले जहिले पनि ओलीलाई अनावश्यक काँध थापेको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन्।

केन्द्रीय सदस्यहरु ठाकुर गैरे, रामकुरीमा झाँक्री, दीपकप्रकाश भट्टल, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका केन्द्रीय सदस्यहरुले उक्त प्रस्तावले ओलीलाई थप स्वइच्छाचारी बनाउने भन्दै गौतमको ध्यानाकर्षण गराएका छन्।

भेटमा सहभागी भट्टले उक्त प्रस्तावले पार्टीमा देखिएको विवादको समाधान नदिने जानकारी आफूहरुले उपाध्यक्ष गौतमलाई गराएको बताए। गौतम नेकपाको शक्ति सन्तुलनमा जहिले पनि ढुलमुले व्यवाहार देखाएको भन्दै केन्द्रीय सदस्यहरुले त्यसलाई सुधार्नसमेत आग्रह गरेका छन्।

जवाफमा गौतमले आफूले पार्टी विभाजन रोक्ने उद्देश्यका साथ प्रस्ताव ल्याएकाले त्यसबाट पछि नफर्किने जवाफ दिए। भट्टका अनुसार गौतमले आफू पार्टीको जुनजुन निकायमा रहेको छ त्यहाँ नै यो विषयमा छलफल चलाउन आग्रह गरेको थिए।

भेटमा सहभागी अर्का एक नेताका अनुसार उनले ओलीसँगको सम्बन्धबारे तीतो पोखेका थिए। ओलीलाई जहिले पनि साथ दिँदा पनि उनीबाट धोका मात्रै भएको तर पनि एकता जोगाउनु पर्ने बाध्यता रहेको उल्लेख गरे।

गौतमले व्यक्त गरेको कुरा उल्लेख गर्दै सहभागी एक नेताले भने, ‘यसअघि ओलीजीलाई साथ दिएर मैले जे गरेँ, त्यो गलत थियो। तर, अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले प्रस्ताव अघि सारेको हुँ।’

नेकपाभित्रको विवाद बढ्दै जाँदा स्थायी समितिम अनिश्चित बनेपछि बुधबार नै १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटीको बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.