१६ साउन, एजेन्सी । एक दिवसीय क्रिकेट अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।
आयरल्यान्डले प्रस्तुत गरेको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डका साम बिलिंग्स ५४ बलमा ११ चौका सहित ६७ रनमा अविजित रहे । कप्तान ओइन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ३६ रनमा अविजित रहे ।
ओपनर जेसन रोयलाई क्रेग यौङले २४ रनमा एलबिडब्लू आउट गरे । जोनी बेयरस्टोलाई एन्डी म्याकब्रिनले २ एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । जेम्स भिन्स २५ र टम ब्यान्टन ११ रनमा आउट भए । आयरल्यान्डका क्रेग यौङले २, कर्टिस क्याम्पर र एन्डी म्याकब्रिनले १–१ विकेट लिए ।
त्यसअघि कोरोना महामारीपछि १ सय ३९ दिनपछि भएको पहिलो ओडिआई खेलमा साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ४४.४ ओभरमा १ सय ७२ अल आउट भएको थियो । खराब प्रर्दशन गरेको आयरल्यान्डलाई पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका युवा अलराउन्डर कर्टिस क्याम्परले १ सय १८ बलमा ४ चौका सहित ५९ रनमा अविजित रहँदै सम्मानजनक योगफल सम्म पुर्याए । कर्टिस डेब्यु खेलमा अर्ध शतक र एक विकेट लिने विश्वका १७ औं खेलाडी हुन् ।
दोस्रो खेल शनिबार हुनेछ ।
यो खेलसँगै आइसिसी विश्वकप सुपर लिग पनि सुरुवात भएको छ । सन् २०२२ सम्म चल्ने सुपर लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ देशले प्रतिस्पर्धा गर्नेछ । लिगपछि भारत बाहेकका शीर्ष ७ टोलीले एक दिवसिय विश्वकपमा स्थान बनाउने छन् । पुचारका पाँच टोलीले छनोट खेल्नुपर्ने हुन्छ । भारत घरेलु टोली हुँदा सोझै विश्वकपमा पुग्ने छ । सबै टोलीले घरेलु मैदान र अवेमा समान चार सिरिज खेल्ने छन् । समग्रमा एउटा टोलीले कुल २४ खेल खेल्ने छ ।