१९ साउन, काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता पनि निष्कर्षबिहीन भएको छ ।
सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानबाट टसमस भएका छैनन् ।
प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् । सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।
तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । भोलि मंगलबार साँझ ५ बजे फेरि वार्तामा बस्ने सहमति भएको स्रोतले बताएको छ ।