काठमाडाैँ : कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ नेपालमा पनि प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे अध्ययन अघि बढाइएको छ। स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिइ अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन सुरु गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
विज्ञहरूका अनुसार ‘एन्टी भाइरल ड्रग’ को रुपमा रहेको यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्याउने छ। जसले गर्दा संक्रमित चाँडै निको भएर घर फर्कन सक्छन्।
कोरोना संक्रमितको उपचारमा खटिएका संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘विभिन्न क्लिनिकल ट्रायलले यसले उपचारमा सघाउ पुर्याएको देखिएको छ। जसले गर्दा विरामीको अस्पताल बसाइ घटेको देखिन्छ। तर अहिले पनि अनुसन्धान भइरहेकाले यसले ठूलै परिवर्तन ल्याउँछ भन्नु हुँदैन।’
उनले रेम्डेसिभिर संक्रमितलाई दिएपछि यसले भाइरस वृद्धि हुन नदिएको अनुसन्धानहरूमा देखिएकाे बताए। उनले यो औषधि केही खर्चिलो भएकाले पनि एकै पटक यसलाई प्रयोगमा ल्याउने हाम्रो क्षमता पुग्छ कि पुग्दैन भन्ने कुरामा पनि मध्यनजर गर्नुपर्ने बताए।
‘यो अलिक खर्चिलो पनि छ। त्यसैले अहिले भइरहेको क्लिनिकल ट्रायलहरूले कस्तो नतिजा दिन्छ त्यही अनुसार यसलाई प्रयोगमा ल्याउँदा व्यवहारिक हुन्छ,’ उनले भने।
सुरुमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि मान्यता दिएको छ। भारत लगायत अन्य देशमा प्रभावकारिता देखिएको भन्दै विज्ञहरूले यो औषधि नेपालमा पनि शीघ्र प्रयोगमा आउनुपर्ने जोड दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट प्रध्यापक डा. प्रकाश घिमिरे भन्छन्, ‘यो औषधिको प्रयोगले संक्रमितमा सुधार आएको देखिएको छ। विरामीहरू अलिक चाँडै निको भएर घर फर्किएका छन्। त्यसैले सरकारले यसलाई प्रयोगमा ल्याउन ढिलाइ गर्नुहुन्न।’, याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।