५ भदौ, विराटनगर । विराटनगर महानगरपालिकामा थप एक संक्रमितको बिहीबार राति मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय एक संक्रमित पुरुषको घरमै मृत्यु भएको हो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
सोमबार स्वाबको नमुना दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भए पनि आइसोलेसनमा शय्या अभावका कारण उनी घरमै बस्न बाध्य भएका थिए ।
संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजाने प्रयास गरेको तर आइसोलेसन केन्द्रहरु संक्रमित बिरामीले भरिएपछि घरमै बस्दै आएका उनको बिहीबार राति अचानक मृत्यु भएको विराटनगर महानगरपालिका ६ का वडाध्यक्ष विजय कामतले बताए ।
वडाध्यक्ष कामतका अनुसार आइसोलेसन केन्द्रमा शय्या अभावमा वडाभरिमा ४० जना संक्रमित घरमै बस्न बाध्य रहेको बताए । महानगरमा होम आइसोलेसनमा ३ सय ३१ जना रहेका छन् ।