नितेश यादव
१६ भदौ, जनकपुरधाम ।
धनुषामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको स्वाब परीक्षणमा आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार जनकपुरधाम वडा नम्बर ४, ७, ८ लगायतका २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, धनुषाको मिथिला नगरपालिका– ७ का दुईजना, औरही गाउँपालिकाका एक जना, धनौजी गाउँपालिकाका एक जना, नगराइन नगरपालिकाका दुई जना र पौडेश्वरको एक जनामा संक्रमण पुष्टि भएको झाले बताए ।
यसैगरी जनकपुरस्थित नेपाल बैंक लिमिटेडका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । योसँगै धनुषामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७८ पुगेको छ भने हालसम्म १२ जनाको मृत्यु भएको छ ।
महोत्तरीमा १२ जना संक्रमित थपिए
महोत्तरीको मनरा सिसबा नगरपालिकाका ५ जना, पिपरा गाउँपालिकाका २ जना, सम्सीका एक जना, राम गोपालपुरका एक जना, बर्दिवास नगरपालिकाका एक जना, लोहारपट्टी नगरपालिकाका १ जना गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।