१८ भाद्र, सप्तरी ।
सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित एउटै परिवारका आठजनामा कोरोना संक्रमण देखिएपछि कञ्चनरुप–६ स्थित घोघनपुर सिल गरिएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रका अनुसार संक्रमित व्यक्तिका परिवारमा पीसीआर परीक्षण गराउँदा थप ७ जनामा कोरोना संक्रमण देखिएकाले कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न उक्त टोल अर्को आदेश नहुञ्जेलसम्मका लागि सिल गरिएको हो ।
साविकको घोघनपुर गाविस–४ को क्षेत्रभरी सिल गरिएको जनाउँदै उनले सो क्षेत्रमा स्वास्थ्य चौकी रहेकोले स्वास्थ्य सेवासहित बजार, पसल बन्द गरिएको छ । नगरस्तरीय कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले उक्त टोलमा हिँडडुल, आवतजावत बन्द हुने गरी सिल गर्दै प्रहरी परिचालन गर्ने निर्णय गरेको छ ।
यस्तै कञ्चनरुप नगरपालिका–२ र ७ मा स्वास्थ्य सेवा बाहेकका हाटबजार, पसल बन्द गर्ने निर्णय गरिएको छ ।