२२ भाद्र, विराटनगर ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको आज विहान मृत्यु भएको हो । भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो । भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।
दाहाल थरका वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । हालसम्म कोरोनाबाट संक्रमणबाट विराटनगर महानगरपालिकाभित्र १५ जनाको मृत्यु भइसकेको छ।