‘फिनसेन फाइल्स’को नेपाल नाता: ३४ अर्ब ८४ करोडको शंकास्पद कारोबार

काठमाडौँ : गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरु संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरुमार्फत नै गरेको खुलासा भएको छ । वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने अमेरिकाको सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (आईसीआईजे) ले यो विवरण बाहिर ल्याएको हो ।

Advertisement

सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका यस्ता कारोबारसम्बन्धी खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ । त्यसअनुसार २००६ डिसेम्बरदेखि २०१७ मार्चसम्म ११ वर्षभित्र नेपालका १० वटा कम्पनी, नौवटा बैंक र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार गरिएको पाइएको छ । सुन, अलकत्र, मूर्ती, पुरातात्विक सामग्रीलगायतको किनबेचमार्फत् रकम ओसारपसार गरिएको पाइएको छ ।

फिनसेन फाइल्सका अनुसार, यस्तो कारोबारमा संलग्न कम्पनीहरुमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि ट्रेडर्स, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि आदि छन् । यसमध्ये केही कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने समेत गरेको देखिन्छ । यसबाहेक अरु एक दर्जन जति नेपाली कम्पनीहरू पनि यस्तो कारोबारमा अप्रत्यक्ष संलग्न छन् ।

Advertisement

फिनसेन फाइल्सका अनुसार, ११ वर्षको अवधिमा ती कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धनको कारोबार र ओसारपसार भएको छ । यो रकम आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो ।

खोज पत्रकारिता केन्ऽ (खोपके) ले आईसीआईजेबाट प्राप्त कागजातहरू विश्लेषण गर्दा नेपालमा यस मामिलामा जोडिएर तीन प्रकृतिका कारोबारहरू भएको देखिन्छ ।

Advertisement

पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ ।

दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ, तर त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन ।

तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ । यसमा नेपालका बैंक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिंदैन ।

पहिलो प्रकृति अनुसार नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको कुल रकम १७ करोड ७६ लाख ६० हजार ७६५ डलर (रु.२१ अर्ब १४ करोड १६ लाख ३१ हजार ५८) हुन आउँछ । यो रु.२१ अर्बमध्ये १० करोड ३० लाख ३९ हजार ८६७ डलर (रु.१२ अर्ब २६ करोड १७ लाख २४ हजार २६२) नेपालबाट बाहिरिएको छ । यसैगरी ७ करोड ४६ लाख २० हजार ८९७ डलर (रु.८ अर्ब ८७ करोड ९८ लाख ८६ हजार ७९६) नेपाल भित्रिएको देखिन्छ ।

त्यसैगरी दोस्रो प्रकृतिको नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको अवैध कारोबार र ओसारपसारको एकमुष्ट रकम भने ४ करोड ८२ लाख ५४ हजार ५७६ डलर (रु.५ अर्ब ७४ करोड २२ लाख ९४ हजार ५८६.८४) देखिन्छ । फिनसेन फाइल्सले यो रकम नेपालसहित विभिन्न मुलुकमा कारोबार र ओसारपसार भएको उल्लेख गरे पनि नेपालमार्फत ठ्याक्कै कति कारोबार भयो भन्ने खुलाएको छैन ।

त्यस बाहेक तेस्रो प्रकृतिको कारोबारमा विदेशमा बसेर नेपाली मूलका व्यक्तिहरूले ६ करोड ६८ लाख ८१ हजार ४५.८६ डलर (रु.७ अर्ब ९५ करोड ८८ लाख ४४ हजार ४७५) कारोबार र ओसारपसार गरेको पनि खुल्न आउँछ ।

फिनसेनले यी तीनै थरी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top