८ असोज, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भारतको मध्य प्रदेशको पूर्वी भूभागमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले देशभर बदलीसहित वर्षा भइरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
उनका अनुसार आइतबारबाट वर्षा हुने क्रम केही रोकिए पनि पूर्णरूपमा मौसम सफा भई घाम लाग्न केही दिन लाग्ने बताइएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसका साथै प्रदेश नं. १, २, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षा भइरहेको छ।
राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं. १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिलो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ७३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ८४.५, धनगढीमा १०.९, दिपायलमा ४.२ सिमरामा १०८.० र धनकुटामा १९.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै आज सबैभन्दा धेरै विराटनगरमा १२५.० मिलिमिटर वर्षा भएको छ । (रासस)