अष्ट्रेलियन कम्पनीले नेपालमा ५ सय मेगावाटको जलविद्युत आयोजना बनाउने

१६ असाेज, काठमाडौं ।

अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत आयोजना निर्माण गर्ने इच्छा देखाएको छ।

फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरेर खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयसमक्ष पेस गरेको हो।

Advertisement

त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच भर्चुअल बैठकसमेत भएको छ। कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए।

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट पारे।

Advertisement

कम्पनीका अध्यक्ष एन्ड्रिउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोलीसँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानुनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गरे।

तीनदिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, ऊर्जा मन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका छ।

फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो। ‘नेपालको जलविद्युतमा यति ठूलो लगानी आउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्री पुनले भने, ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं।’

यस्तै राजदूत बडले आफ्नो नेपाल बसाई सफल र स्मरण योग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गरे। उनले अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरतादिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वा नगर्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top