श्रीमतीको कपाल मुडेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

श्रीमतीको कपाल मुडेर दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ

१७ आश्विन, हुम्ला ।
हुम्लाको सिमकोट गाउँपालिकामा श्रीमतीको कपाल मुडेर कालोमोसो दली दिसा खुवाएर गाउँ डुलाउने श्रीमानसहित सातजना पक्राउ परेका छन्।

पर–पुरुषसँग सम्बन्ध राखेको आरोपमा २३ वर्षीया महिलालाई यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सातजनालाई प्रहरीले पक्राउ गरेको हो। शुक्रबार भएको यो घटनामा संलग्न रहेका सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्य सुवेदीले जानकारी दिए।

उनका अनुसार श्रीमानसहित पक्राउ परेका सातैजनाले दिसा खुवाएको बाहेक अरु सबै अपराध स्वीकारेका छन्। पीडित महिलालाई केही गाउँलेहरुको सहयोगमा उद्धार गरेर शुक्रबार नै जिल्ला प्रहरी कार्यालय ल्याइएको र अहिले संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको डीएसपी सुवेदीले जानकारी दिए।

‘पर–पुरुषसँग प्रेम सम्बन्ध राखेको आरोपमा महिलामाथि अमानवीय व्यवहार भएको छ, घटनामा संलग्न उनका श्रीमानसहित सातजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ’, सुवेदीले भने, ‘ महिलाले कसैसँग प्रेम रहेको कुरा झुटो रहेको बताएकी छन् ।’

परपुरुषसँग सम्बन्ध राखेर ‘गाउँको इज्जतमा दाग’ लगाएका कारण कारबाही गरेको पक्राउ परेकाहरुले बताएको डीएसपी सुवेदीले जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.