१८ असोज, काठमाडौं ।
नेपाल चिकित्सक सङ्घले अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हाे ।
चिकित्सक सङ्घले अनशन बसेको २१ दिन पुगिसक्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको तर सरकारले वार्ताको पहलसमेत नगरेकोमा आपत्ति जनाएको छ ।
सङ्घले ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर संवाद सुरु गर्न अल्टिमेटम दिँदै सरकारले अटेरी गरेमा जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ । यसबाट पर्न जाने गम्भीर परिस्थितिको जिम्मेवार सरकार नै हुने पनि चिकित्सक सङ्घले जनाएको छ ।
‘७२ घण्टाभित्र पनि नेपाल सरकारले वार्ता टोली गठन गरी डा. केसीको जीवन रक्षाका निम्ती कुनै पहल अगाडि नबढाइएको अवस्थामा नेपाल चिकित्सक संघले जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’ संघका महासचिव बद्री रिजालले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी भदौ २९ गतेदेखि डा. गोविन्द केसी आमरण अनशन बसे पनि सरकारले उनको मागको विषयमा आइतबार २१ औं दिनसम्म चासो दिएको छैन ।
सङ्घले वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको पनि जानकारी दिएको छ ।
चिकित्सक संघको विज्ञप्ति :