१९ असोज, एजेन्सी । ओली वाटकिन्सको ह्याट्रिक मद्दतमा एस्टन भिल्लाले लिभरपुललाई हराएको छ । घरेलु मैदानमा एस्टन भिल्लाले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो ।
भिल्लाको जितमा ओली वाटकिन्सले ह्याट्रिक पुरा गर्दा ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि हार टार्न सकेन । लिभरपुलले लिगमा पहिलो हार बेहारेको हो । भिल्ला अपराजित रहेको छ ।
भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो । एन्ड्रिउ रोबर्टसनको ब्याक पासमा गोलरक्षक एड्रियनको जोेसेफ गोमेजलाई दिएको पासलाई ज्याक ग्रेयलिसले नियन्त्रणमा लिदै दिएको पासलाई वाटकिन्सले गोल गर्न सफल भएका थिए ।
जितसँगै अपराजित रहेको एस्टन भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । १२ अंक जोडेर एभर्टन लिगको शीर्षस्थानमा रहेको छ ।