प्रदेश ५ नामकरण र राजधानी मतदानः आज हुने सरकारी निर्णयको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी

प्रदेश ५ नामकरण र राजधानी मतदानः आज हुने सरकारी निर्णयको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्‌विप जारी

२० आश्विन, बुटवल ।
प्रदेश ५ को नामकरण र राजधानीका लागि सरकारले गरेको प्रस्तावको विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ह्‌विप जारी गरेको छ ।

प्रदेशसभा बैठकमा मंगलबार हुन गइरहेको मतदानमा सरकारी निर्णयको विपक्षमा मतदान गर्न प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले ह्‌विप जारी गरेका हुन् । कनौडियाले कांग्रेसका १९ जना प्रदेशसभा सदस्यहरुलाई लिखित रुपमै सरकारको निर्णयको विपक्षमा मतदान गर्न पत्र दिएको बताइएको छ ।

तर, उनको ह्‌विप सबै प्रदेशसभा सदस्यहरुले नमान्‍ने देखिएको छ । दाङ निर्वाचन क्षेत्र ३ ‘ख’ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले संसदीय दलले जारी गरेको ह्‌विप आफूहरुका मान्य नभएको बताएका छन् ।

उनले सरकारले राजधानी प्रस्ताव गरेको देउखुरी सबै जिल्लाहरुका लागि पायक पर्ने ठाउँ रहेको दाबी गर्दै सरकारले गरेको विपक्षमा मतदान नगरिने प्रस्ट्याए । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये कम्तिमा पनि ६ जनाले ह्‌विपविपरीत ‘फ्लोर क्रस’ गर्ने प्रबल सम्भावना छ । “हामी दाङका तीनजनाले विपक्षमा मत हाल्दै हाल्दैनौं ।

त्यस्तै बाँकेका दुई र बर्दियाका एकजना पनि ह्‌विप मान्‍नुहुन्छ,” प्रदेशसभा सदस्य चौधरीले भने, “यसका बारेमा हामी फेरि छलफल गर्छौं । प्रस्तावको पक्षमा मतदान गर्नेको संख्या बढ्छ नै ।”

सोमबार कांग्रेसको विरोधका बीच बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी र प्रदेश राजधानी दाङको देउखुरी प्रस्ताव छलफलका लागि पेस गरेका थिए । उक्त प्रस्तावमाथि मंगलबार छलफल गरेर मतदान प्रक्रियाबाट टुंगो लाग्‍ने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.