६ मंसिर,काठमाण्डौ ।
कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।
निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन । जित निश्चित भएसँगै गगन मतगणनास्थलमा पुगेका थिए । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए । यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।
गगनले चुनाव जितेसँगै प्रधानमन्त्री पदमा दाबी गर्ने बताइरहेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । काठमाडौंको मैतिदेवीमा मतदानपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाँक्ने भन्ने निर्धारणसमेत गर्ने र त्यसको तयारी आफूले गर्ने बताएका थिए ।
‘संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मूलधारका राजनीतिक दलहरूलाई पनि परिवर्तन गर्नुपर्नेछ । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठ्यारो हुन्न । तर, विगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्छ’, थापाले बताएका थिए । जनताको परिवर्तनको आकांक्षालाई पूरा गर्नका लागि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उनको भनाइ छ । थापाले काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् ।