२१ भ्दौ, काठमाडौँ ।
सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि व्यवस्थित आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्नुपर्ने बताएका छन । लक्षण नभएका व्यक्तिहरुलाई सरकारले होम आइसोलेसनमा राख्ने नीतिले संक्रमणको दर बढेको सांसदहरुले बताएका हुन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा सांसदहरुले होम आइसोलेसनको विकल्प खोज्नुपर्ने, तरकारी बजारमा अनुगमनको दायरा बढाउनुपर्ने र विभिन्न संघ संस्था तथा पार्टीका कार्यकर्ताहरुलाई स्वयमसेवी रुपमा परिचालन गर्नुपर्ने बताएका छन् । सांसद सरिता न्यौपानेले होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने बताइन् । उपत्यकाका अधिकांश घरहरुमा पुरै परिवारका लागि एउटा मात्रै सौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा संक्रमितका लागि उचित व्यवस्था गर्नुपर्ने उनले बताइन् । उनले ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न सहयोग पुगिरहेको तर्फ ध्यानाकर्षण गराइन् ।
सांसद अञ्जना विशंखेले स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गरी स्वयमसेवी रुपमा परिचालन गर्नेगरी अगाडी बढ्नुपर्ने बताइन् । निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गिकरण गरेर परिचालन गर्नुपर्ने उनले बताइन् ।
सांसद सन्त थारुले सीमा क्षेत्रमा कडाई गरेर विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुपर्ने बताए । टिभीमा देखिने गरेर कुरा मात्रै नगरेर काम पनि सहि तरिकाले गर्नुपर्ने भन्दै उनले आक्रोश व्यक्त गरे ।
उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहित स्यानीटाइजर विक्रि भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताए । कालीमाटी तरकारी बजारमा धेरै संख्यामा संक्रमण रहेका व्यक्तिहरु रहेको आशंका व्यक्ति गर्दै उनले व्यापार व्यवसाय गर्न नपाउने डरले लुकेर बसेका संक्रमितलाई खोज्नुपर्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आज मात्रै ९ जनाको मृत्यु भएको छ ।