आज माघे सङ्क्रान्ति मनाइँदै

0SHARES

१ माघ २०७५ नेपाल टाईम्स

विराटनगर, माघ १
आज माघे सङ्क्रान्ति नेपालका विभिन्न ठाउँमा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गरी मनाइँदैछ । हरेक वर्ष माघ १ गतेलाई नेपाली समाजमा माघे सङ्क्रान्ति तथा मकर सङ्क्रान्ति पर्वका रुपमा मनाउने गरिन्छ ।

माघ १ गतेदेखि सूर्य मकर रेखामा संक्रमण भई उत्तरायण हुनेहुँदा यस सङक्रान्तिलाई मकर सङ्क्रान्ति भन्ने गरिएको हो । लोकमा माघ १ गतेदेखि सूर्य दक्षिणायनबाट उत्तरायाणमा प्रवर्तन हुनेहुनाले र रात छोटा हुँदै जाने र दिन लामा हुनथाल्ने मानिन्छ । पूर्वीय ज्योतिष गणनामा सूर्य कर्कटरेखामा सङ्क्रमण हुने सङक्रान्ति वा साउने सङ्क्रान्तिबाट दक्षिणायन शुरु हुने र त्यसको ६ महिनापछि सूर्य मकर रेखामा सर्ने सङ्क्रान्ति वा माघे सङक्रान्तिबाट सूर्य उत्तरायण हुने गरी वर्ष दिनमा दुई अयन हुने विधान छ ।

धार्मिक कार्य यज्ञादिका लागि उत्तरायणको अवधि उत्तम मानिन्छ । महाभारतको युद्ध दक्षिणायनमा भएको थियो । इच्छामरणको वरदान पाएका भीष्मपितामहले युद्धमा घाइते भई सरशैयामा रहेर देह त्याग गर्न यही उत्तरायणको दिन पर्खेर बसेका थिए । माघे सङक्रान्तिदेखि जगतमा जाडो ओरालो लागि गर्मी बढ्नथाल्ने हुनाले यस दिनदेखि वर्षा लागेको पनि मान्ने गरिन्छ । कृषि सभ्यतामा माघ लागेपछि वर्षे बालि लगाउने तयारी पनि गरिन्छ ।

माघे सङ्क्रान्तिमा नदी संगम त्रिवेणी तथा तीर्थहरुमा स्नान गरी भगवान् विष्णुको पूजाआजा गर्नुका साथै मेला भर्ने चलन छ । माघे सङ्क्रान्तिलाई थारु समुदाय र मगर सुमुदायले आफ्नो प्रमुख पर्व माघीको रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन साँझ घरघरमा मासका फुरौला,बटुक,सेलरोटी,तरुल,सखरखण्ड लगाएतका कन्दमूल खाने चलन छ । भोलिपल्ट सङ्क्रान्तिका दिन नदीमा स्नान गर्ने अनि तिनै परिकार खाई मेला भर्ने नाचगान गरी रमाउने गरिन्छ । साँझ घर फर्केर मासको दाल र चामल मिसाएर नून,बेसार अदुवा घिउ हालेर पकाइने परिकार खिचडी खाने गरिन्छ ।

माघे संक्रान्तिको अवसरमा माईखोला, कन्काईको किनार, कोशी किनारको चतराधाम, दोलालघाट, देवीघाट चितवनको देवघाटमा स्नान गरी मेला भर्नेको घुइँचो लाग्छ । यसैगरी कालीगण्डकीको किनारमा रहेको नेपालको प्रसिद्ध धाममध्ये एक मानिने रुरुक्षेत्र वा ऋडीमा माघे सङक्रान्तिदेखि तीन दिने मेला शुरु हुन्छ । कालीगण्डकीमा स्नान गरी भगवान ऋषिकेशको दर्शन गरेर सङक्रान्ति मेला भर्न गुल्मी,पाल्पा,स्याङ्जा,अर्घाखाँची,पर्वत,बागलुङ,रकुम प्यूठान लगायतका जिल्लाबाट मानिसहरु यहाँ भेला हुन्छन् । यहाँ रहेका भगवान् हृषिकेशको उत्पत्ति र रुरुक्षेत्रका सम्बन्धमा वाराह पुराणमा उल्लेख भएको पाइन्छ ।

पौराणिक उल्लेख अनुसार यहाँ भृगुवंशी ब्राह्मण बस्थे। भृगुकुलका एक तपश्वी देवदत्त ब्राह्मण वेदवेदाङ्गमा पारंगत थिए । उनले कालीगण्डकीको पवित्र तटमा आश्रम बनाई तपस्या गर्न लागे । कठोर तपस्या गर्दागर्दै उनले भगवान् शिव र विष्णुमा भेद गरी विष्णुमा मात्र ध्यान दिनथाले । उनको तपस्या अझ कठोर हुँदै थियो । यो देखेर देवराज इन्द्र, इन्द्राशन डग्ने डरले आत्तिए । अनि देवदत्तको तपस्या भंग गराउने मनशायले इन्द्रले स्वर्गबाट अति सुन्दरी परी प्रम्लोचाका साथै गन्धर्व पठाए ।

उनीहरु द्येवदत्तको आश्रममा आई नाचगान गरी रमिता गर्न थाले । देवदत्तले आँखा खोली हेर्दा प्रम्लोचाको हाउभाउ देखे । त्यसबाट उनको तपस्या विचलित भो । प्रम्लोचासित प्रेमालाप गर्न थाले । पछि देवदत्तलाई आफू दिग्भ्रमित भएको चेत खुल्यो । प्रम्लोचालाई त्यहीं छाडी देवदत्त कालीकिनारको उत्तरी उच्च स्थानमा गएर पुनः तपस्या गर्न थाले । यता प्रम्लोचा देवदत्तबाट गर्भवती भएकी थिइन् । उनीबाट छोरी जन्मिइन् । ती छोरीलाई आश्रममै छाडी प्रम्लोचा स्वर्ग फिर्ता आइन् । ती विकल कन्यालाई मृग वा रुरुले दूध खुवाएर बचाए, हुर्काए । रुरुले हुर्काएकी हुनाले ती कन्याको नाम रुरुकन्या हुन गयो । रुरुकन्या युवती भइन् ।

आसपासका युवाहरुले उनको सुन्दरता देखेर विवाहको प्रस्ताव गरे । तर रुरुकन्याले विवाह नगरी तपस्या गर्ने निधो गरिन् । उनले भगवानविष्णुको कठोर तपस्या गरिन् । तपका कारण उनका इन्द्रिय सबै आन्तरिक भए । उनको यो भक्ति देखेर भगवान विष्णु आफै तपस्या स्थलमा आउनुभयो । रुरुकन्याका सबै इन्द्रिय आन्तरिक योगमा फर्किएकाले उनले देख्न सकिनन् । भगवान विष्णु उनको अन्तरमा प्रवेश गरी इन्द्रिय बहिर्मुख बनाइदिनुभयो र रुरुकन्याले विष्णुको दर्शन गरिन् । रुरुकन्यालाई वरदान माग भन्दाले लोक कल्याणका लागि भगवानलाई साक्षत्रुपमा यही रुरुक्षेत्रमा रहन उनले आग्रह गरिन् ।

भगवान विष्णुले त्यसलाई तथास्तु भन्दै यस पवित्र तीर्थको नाम रुरुकन्याकै नामबाट रुरुक्षेत्र रहने थप वरदान दिनुभयो । भगवान विष्णुले हृषिक इन्द्रियको ईश स्वामीको रुपमा यो कार्य गर्नुभएकाले उहाँको यो अवतारलाई हृषीकेश भनिएको हो । भगवान विष्णु हृषिकेशकारुपम मूर्तिमा साक्षत् भई रहनुभयो । रुरुकन्याले आफ्नो जीवनभर यस साक्षात् मूर्ति पूजन गरिन् ।जीवनको अन्त्यमा हृषीकेशको मूर्ति काखमा लिई गंगामा प्रवेश लौकिक जीवन अन्त्य गरिन् । सोही मूर्ति पछि पाल्पाका धर्मात्मा राजा मणिमुकुन्द सेनले गंगा स्नानका बेला प्राप्त गरी यस स्थानमा स्थापना गरेका हुन् ।

माघे संक्रमन्ति मेलामा विभिन्न स्थानीय उत्पादनको पनि क्रयविक्रय हुनेछ ।काठमाडौ उपत्यका लगायतका स्थानमा यस दिन घिउ, तिल मिसाएको चाकु,तरुल, उखु खाने घाममा बसेर शरीरमा तोरीको तेल घस्ने चलन छ । यसो गर्नाले जाडोबाट ज्यान जोगाउन बल पुग्ने विश्वास छ ।

माघे सङ्क्रान्तिलाई थारु समुदायले आफ्नो मुख्य चाड मानेर मनाउने परम्परा छ । यस दिनमा घर तथा चौर वा सार्वजनिक स्थलमा थारु समुदायका पुरोहित गुरौबाट प्रकृति र पितृको विधिपूर्वक पूजाआजा गर्ने चलन छ । माघीलाई यस समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको छ । माघीका दिनमा वर्ष भरिको हरहिसाब मिलाउने र नयाँ व्यवहारको थालनी गर्ने चलन छ । यसै दिन थारु समुदायमा आगामी वर्षका लागि नयाँ मुखिया या थकाली छनोट गरिन्छ । परम्परागत रुपमा छानिने थकालीले समुदायमा हुने आपसी विवाद मिलाई समाजको विकास र समुन्नतिमा नेतृत्व प्रदान गर्छन् ।

माघी पर्वको अवसरमा थारु समुदायमा नयाँ वस्त्र लगाउने,आपसमा भेटघाट गर्ने अनि माछामासु लगाएत परम्परागत परिकार खाने चलन छ । नेपालको तराई क्षेत्रमा बसोवास गर्ने थारु समुदायले यस पर्वलाई बडो उल्लास र हर्षपूर्वक मनाउने हुँदा माघी लाग्नु अघि नै गाउँवस्तीमा माघी भव्य तयारी गरिन्छ । माघी दिन मिठा परिकार खाने र आफन्तलाई बोलाएर खुवाउने हुँदा यो पर्वको रौनकले तराईक्षेत्र नै पर्वमय बनेको हुन्छ । थारु समुदायको गीत गायन तथा मयुरनाच लट्ठीनाचले त झन दुनियालाई आकर्षित गरेको हुन्छ । आजभोलि आएर राजधानी काठमाडौको टुँडीखेलमा पनि माघी महोत्सव गर्न थालिएको छ ।

माघे सङ्क्रान्तिलाई मगर समुदायले पनि प्रमुख पर्वको रुपमा मनाउँदै आएको छ । यस अवसरमा मगर समुदायको परिवारका मुख्य सदस्यले पर्वका दिन नदीकिनारमा गई आफ्ना इष्टदेव तथा पितृको पूजाआजा गर्ने गर्दछन् । बिहानको पूजाआजा सकिएपछि आफ्नो परम्परागत पोशाक लगाई खुर्पेटो भिरेर कौरा गाई नाच्ने मनोरञ्जन गर्ने गरिन्छ । यस पर्वमा मगर समुदायमा बारा रोटी लगाएतका परम्परागत परिकार खाने चलन छ । छन्त्याल समुदायले पनि माघेसङक्रान्ति पर्व यसै गरी मनाउने र आपसमा शुभकामना आदान प्रदान गर्ने गर्दछन् । एकै दिनको एउटै पर्वले नेपाली समुदायमा विभिन्न अर्थ राख्ने माघे सङ्क्रान्ति तथा माघीका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।
यस पर्वले विभिन्न समुदायलाई जाडेर सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउन पनि मद्दत गरेको छ ।

पर्व एउटै तर मनाउने अर्थ र क्षेत्र फरक फरक रहेको माघे सङ्क्रान्ति तथा माघीले अनेकताका बीच समन्वयको भाव सञ्चारण गरेको छ । ठाउँ ठाउँका मेला,माघीको रौनक र साँस्कृतिक नाचगानले एकातिर देशवासीलाई हर्षखुशी दिएको छ भने अरुलाई विविधताबीच एकताको सन्देश दिएको छ । पर्वको उल्लासले पर्यटकीय आकषर्ण दिएको छ । विभिन्न फूलले सजिएको फूलबारीले जस्तै गरी सामाजिक सद्भावको सौन्दर्य दिएको छ । पर्वीय परिकारको क्रयविक्रयले आर्थिक गतिविधि बढाएको छ । आकशीय पिण्डको सङ्क्रमण र समय परिवर्तनको चेतनासँगै रमाउने यस्ता पर्वहरुले एकातिर खगोलीय अवस्थाको अध्ययनमा आकर्षित गर्छन् भने अर्कातिर प्रकृतिको प्रगतिसँग जीवन बिताउने जीवन गति सञ्चालन गर्ने सहज जीवनशैली सिकाउँछन् । यसैले पनि पूर्वका पर्वहरु मननीय छन् पठनीय छन् अनुकरणीय छन् । माघे सङ्क्रान्ति तथा माघी पर्व पनि यस्तै महिमाले घनिभूत नेपाली समाजको एक महत्वपूर्ण पर्व हो ।( नेपाल समाचारपत्रबाट)

विज्ञापन बक्स