एजेन्सी, माघ ७
इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले लाजियोलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा आईतबार राती सम्पन्न खेलमा नेपोलीलाई जिताउन जोस मारिया कालेहोन र आर्कडियुस मिलिकले गोल गरे । लाजियोका सिरो इमोबिलेले एक गोल फर्काए ।
खेलको ३४औं मिनेटमा जोस मारियाको गोलबाट नेपोलीले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै आर्कडियुसले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारेको थियो ।
२ गोलले पछि परेपछि लाजियोले दोस्रो हाफमा एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, लाजियोले त्यसपछि थप गोल गर्न सकेन । ६५औं मिनेटमा सिरो इमोबिलेले गोल गर्दै खेललाई २–१ मा ल्याएका थिए । त्यसको ५ मिनेटपछि नै लाजियो १० खेलाडीमा समेटियो । लाजियोका फ्रान्सिस्को एसरवी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै नेपोलीले २० खेलबाट ४७ अंक जोड्यो । नेपोली शीर्ष स्थानको युभेन्टसभनदा ६ अंकले पछि छ । एक खेल कम खेलेको युभेन्टसको ५३ अंक रहेको छ । त्यस्तै नेपोलीसँग पराजित लाजियो ३२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।