५ जेठ, काठमाडौं ।
यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्मती प्रदेश निर्वाचन आयोगद्वारा आज दलका तर्फबाट उम्मेदवार भएका, स्वतन्त्र उम्मेदवार एवं निर्वाचन कार्यालयका पदाधिकारी र सञ्चारकर्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै मतदातालाई कोरोना संक्रमित भएको भएको पाइएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ मतदान गर्न लगाउने पनि निर्णय गरेको प्रदेश निर्वाचन प्रमुख अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।
उपनिर्वाचनका लागि तीन वटै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीसहित २४ जना कर्मचारी जनशक्ति खटिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ ।