२६ जेष्ठ, एजेन्सी । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले बनाएको एपबाट विभिन्न अपराधमा संलग्न ८ सयभन्दा बढी पक्राउ परेका छन् ।
अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)ले एएनओएम नामक एप बनाएको थियो । यसलाई सादा पोशाकमा खटिएका सुरक्षा अधिकारीहरुले नै आपराधिक गिरोहका नाइकेहरुलाई दिएका थिए ।
एपबाट आदानप्रदान हुने ‘मेसेज’हरू गोप्य हुने भएकाले संसारभर विभिन्न अपराधमा संलग्न अपराधीहरूले यो एप चलाउन थाले । यो एप प्रयोग गर्न थालेपछि उनीहरुको योजना थाहा पाउन प्रहरीलाई सजिलो भएको थियो ।
प्रयोगकर्ताले एपमार्फत् एक अर्कासँग आपराधिक योजना आदानप्रदान गर्न थालेका थिए । अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गराउने अधिकारीले तीन वर्षदेखि अपराधमा सलंग्न व्यक्तिहरुको खोजीका लागि अपरेशन सुरु गरेका हुन् । यस क्रममा उनीहरुले दुई करोड म्यासेजहरु प्राप्त गरे भने कयौँ देशबाट सयौँलाई हिरासतमा लिए ।
विश्वमा वर्षौंदेखि संगठित अपराधलाई भत्काउन तथा अन्तर्राष्ट्रिय रुपमा भईरहेको लागुऔषधको कारोबारलाई नियन्त्रण गर्न, हतियार तथा विस्फोटक पदार्थको तस्करी र हत्याबारे छलफल गर्न एप बनाईएको थियो ।
जसलाई अपराधीहरुले यसरी विश्वास गरे कि उनीहरुले कुनै कोड भाषामा नभई यसमा तस्करी, अपहरण तथा अन्य आफ्ना गतिविधिबारे सिधै सरल भाषामा एक अर्कालाई भन्ने गर्दथे ।
मंगलबार, यो अपरेशनबारे जानकारी दिँदै अधिकारीहरुले ४५ भाषामा कयौँ देशबाट २ करोड भन्दा धेरै ‘म्यासेज’ प्राप्त गरेको र ८ सय भन्दा धेरैलाई पक्राउ गरेको जानकारी दिए। धेरैजसो गएको दुई दिनमा पक्राउ परेका थिए ।
यो एपमा लागुपदार्थ, जाँड रक्सीको कारोबार, धन सञ्चित तथा उच्चस्तरीय भ्रष्टाचारबारे चर्चा परिचर्चा गर्न र जानकारी दिन खुला गरिएको थियो ।
अपराधीहरुले यो एपलाई गोप्य मान्दै सजिलै सबै जानकारी दिन थाले । यसैक्रममा अधिकारीहरुले उनीहरुको सन्देश तथा जानकारी जफत गर्दै अनुसन्धान थाले ।
यो एपको माध्यमबाट गरिएको अपरेशनमा अधिकारीहरु अन्तर्राष्ट्रिय रुपमा संगठित अपराधलाई नियन्त्रण गर्न सफल भए । युरोप तथा युरोपेली एजेन्सीले यसलाई अपराधविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो सफलताको रुपमा वर्णन गरेका छन् । उनीहरुले आदानप्रदान गर्ने मेसेजहरूको आधारमा अहिलेसम्म ८ सयभन्दा बढीलाई पक्राउ गरिएको हो ।
अहिलेसम्म अष्ट्रेलियामा २ सय २४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको एफबीआईले जनाएको छ ।