९ साउन, काठमाडौं ।
कोभिड–१९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता गर्ने तयारी भएको, तर निर्णय भइनसकेको बताए । कतिपय विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग भइरहेकाले तिनीहरूको व्यवस्थापनलगायतका पक्षसमेत जोडिएकाले छलफल भइरहेको उनको भनाइ छ ।
परीक्षाको तयारी गरी आगामी बोर्ड बैठकबाट निर्णय हुने उनले बताए । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा ११ को भने विद्यालयबाटै परीक्षा सञ्चालन गरी मूल्यांकन हुने र एक प्रति बोर्डमा पठाउनुपर्ने व्यवस्था भएको छ ।
कोभिड–१९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् ।