काठमाडौंका ढुंगेधारा एकादेशको कथा !

913SHARES

पुजा बेल्वासे, १२ चैत, काठमाडौँ । नेवारी कला र संस्कृतिले भरिपूर्ण मन्दिरै मन्दिरको शहरका रुपमा विश्वमै परिचित काठमाडौं उपत्यकामा जताततै पाइने ढुंगेधारा नेवार समुदायको मौलिक सम्पत्ति मात्र नभई विदेशीका लागि चिनाउने महत्वपूर्ण पहिचानको आधार पनि हो । तर विडम्बना ऐतिहासिकता बोकेका ढुंगेधारा अहिले मासिदै गएका छन् ।

काठमाडौं उपत्यकाका ठाउँठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुंगेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान तथा गरिमा बोकेको छ । ढुंगेधाराको निमार्ण हिजोआज मात्रै भएको होइन । यसको पछाडिको इतिहास लिच्छवीकालसम्म जोडिएको छ ।

लिच्छवी राजा मानदेवका पालामा बनेको ढुंगेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ । तर अहिले विडम्बना कस्तो छ भनी यहि कलात्मक र सांस्कृति बोकेका ढुंगेधारा मासिदै गएका छन् । उपत्यकामा रहेका केहि ढुंगेधारा टुटेफुटेका छन् , केही ढुंगेधारा पुरिएका छन् भने केही ढुंगेधारा मासेर घर बनाएका छन् । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् ।

विगतमा उपत्यकाबासीको पानी माग धानिरहेका ढुंगेधारा अहिले खोज्दा पनि भेट्न मुस्किल पर्ने अवस्थामा पुगेका छन् । उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गए । स्थानीयले प्रयोग गर्दै आएका ढुंगेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

वातावरणविद् बिनोद भट्टका अनुसार समय संगसँगै संस्कृति परिवर्तन हुदै गएको छ । अहिलेका नयाँ पुस्तालाई ढुंगेधारा भनेको के हो ? यसको महत्व के छ भन्ने नै थाहा छैन् । उनका अनुसार ढुंगेधाराको संरक्षण गर्न अब आउने नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक छ । भट्ट भन्छन् हाम्रो शिक्षामा समेत ढुंगेधारा भनेको के हो भनेर यसको महत्व बुझाउन आवश्यक छ । तर शिक्षामा ढुंगेधाराको विषय समेटिएको छैन् ।

उनी भन्छन् ूम शिक्षालाई नै दोष देखाउँछु ू । भट्टका अनुसार एतिहासिक मानिने ढुंगेधाराहरु अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले लोप हुन थालेका हुन् । नेपाल भाषामा लुँहिटी भनिने काठमाडौंको सुन्धाराको धारामा २४सैँ घण्टा निरन्तर पानी झरिरहने भएकाले काठमाडौंवासीले दुवै हातको अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धुने गर्थे । हाल आएर यो कुरा एकादेशको कथा जस्तो भइसकेको छ ।

काठमाडौंको सुन्धारामा एकनासले निरन्तर पानी झरिरहेको हुन्थ्यो, त्यो पनि एउटा धारामा मात्र होइन, सुन्धाराका सबै धारामा त्यतिकै फोर्सबाट आइरहन्थ्यो तर अहिले फोहोरले ढाकिएको छ । सुन्धाराकी स्थानीय सीता श्रेष्ठका अनुसार धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको हो ।

अहिले प्रायः सबै सुकिसकेका छन् ।उनका अनुसार धारामा सफा पानी आउँथ्यो, ढुंगेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले सबै सुकेको छ ।

त्यस्तै, बालाजुस्थित २२ धारामा पनि विगतमा ठूलो वेगले पानी झरिरहेको अवस्था थियो । त्यसवेलाको लुँहिटीको वेग सम्झिँदै बालाजुका रामकुमार श्रेष्ठ भन्छन् , ‘झण्डै चार दशकअघिसम्म बालाजुका सबै धारामा २४सै घण्टा वेगका साथ पानी झर्ने भएकाले काठमाडौँका विभिन्न ठाउँबाट यहाँ नुहाउन र लुगा धुन आउनेको सङ्ख्या धेरै हुन्थ्यो । हिजोआज यस्ता लुँहिटीमा पानी झर्दैन । पानीको स्रोतको विकल्प, ऐतिहासिक महत्व तथा नेवार समुदायको छुट्टै पहिचान जोडिएका कारण यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

काठमाडौंमा महानगरभित्र १ सय ६५ धारा छन । त्यसमध्ये ९६ वटा प्राकृतिक अवस्थामा सञ्चालित छन । दुईवटा पाइपबाट पानी ल्याएर चलाइएका छन । यस्तै ३४ वटा सुकिसकेका छन् भने ३३ वटाचाहिँ लोप भइसकेको अवस्थामा छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण